६ कार्तिक २०८३, बुधबार

बडादशैंको मुख्य दिन आज विजयादशमी: उत्तम साइत १०:२६ बजे


बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि दिनभर नै टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय तोकिएको छ ।

​सनातन परम्परा अनुसार दशैंको टीका लगाउँदा र थाप्दा दिशाको विशेष महत्त्व रहने गर्दछ । दक्षिणतर्फ फर्किएर पितृकर्म मात्रै गरिने शास्त्रीय मान्यता भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमाको स्थितिलाई हेरेर साइतका आधारमा टिका लगाउने र थाप्ने दिशा तय गर्ने गरे तापनि सर्वसाधारणले सामान्यतया पूर्व वा उत्तरतर्फ फर्केर मान्यजनबाट टीका-जमरा र आशीर्वाद ग्रहण गर्ने गर्दछन् ।

​आजका दिन आफ्ना मान्यजन तथा आफन्तकोमा गएर टीका लगाउने, आशीर्वाद लिने र मिष्ठान्न भोजनका साथ खुसी साटासाट गर्ने गरिन्छ । मान्यजनको हातबाट दशैंको टीका र जमरा लगाउने यो क्रम आजका दिनदेखि सुरु भएर कोजाग्रत पूर्णिमाका दिनसम्म निरन्तर चल्ने गर्दछ ।

ताजा समाचार