२ मंसिर २०८३, सोमबार

बझाङमा अटोरिक्सा दुर्घटना : एकै परिवारका ४ जनाले ज्यान गुमाए


चाडपर्वको खुसी साटेर कर्मथलोतर्फ फर्कंदै गर्दा बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा भएको भीषण अटोरिक्सा दुर्घटनाले शिक्षक दीपक महराको परिवारै उजाडेको छ । आज बिहान टुमेडा गाउँबाट बिथ्थड बजारका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ९०० मिटर तल भीरमा खस्दा महराकी श्रीमती राजमति, ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै ज्यान गएको हो । दशैँ–तिहार मनाएर डडेल्धुरातर्फ जाँदै गर्दा भएको यो अकल्पनीय वज्रपातले सिङ्गो गाउँलाई नै शोकमा डुबाएको छ ।

डडेल्धुराको गन्यापधुरास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका स्थायी शिक्षक दीपकको गत साउनमा मात्र बुङ्गलकै सत्य माध्यमिक विद्यालयमा सरुवा भएको थियो, भने मृतक छोरा रियास र भतिजी तारा डडेल्धुरामै अध्ययनरत थिए । आफ्नो सरुवा भए पनि छोराछोरीको पढाइका कारण डडेल्धुरा जाने क्रममा परिवारका चार सदस्य गुमाएपछि दीपक विक्षिप्त बनेको वडाध्यक्ष प्रेम ओखेडाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार सोही अटोरिक्सामा सवार १३ वर्षीय विक्रम महरा भने चमत्कारिक रूपमा सकुशल रहन सफल भएका छन् । दुर्घटनालगत्तै प्रहरीले अटोरिक्सा चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको छ ।

ताजा समाचार