२९ कार्तिक २०८३, शुक्रबार

उच्च अदालतका मुख्य न्यायाधीशसहित चार अनुभवी अनुहार सर्वोच्च अदालतमा नियुक्त


उच्च अदालतको नेतृत्व र न्याय सम्पादनमा लामो अनुभव सँगालेका चार जना न्यायाधीशहरू देशको सर्वोच्च न्यायिक निकायमा उक्लिएका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको सर्वसम्मत अनुमोदनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरी प्रसाद ढकालद्वारा जारी विज्ञप्तिअनुसार नवनियुक्त न्यायाधीशहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन (हेटौँडा इजलास) का न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) का न्यायाधीश गोकर्ण डाँगी रहनुभएको छ।

यसअघि कात्तिक २१ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले चारै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नियुक्तिको संवैधानिक बाटो खुलेको थियो। उच्च अदालतका अनुभवी न्यायाधीशहरूको आगमनसँगै सर्वोच्च अदालतमा लामो समयदेखि थुप्रिएका मुद्दाको चाप कम गर्न र न्याय सम्पादनलाई थप गतिशील बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार