पटाका पड्काउने क्रममा सल्किएको आगोले भयावह रूप लिँदा मोरङको सुनवर्षी नगरपालिका–६, झपडतलमा एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ । बुधबार साँझ करिब ६:४५ बजे सुरु भएको भीषण आगलागीमा परी स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुईतले घरसहित पाँचवटा संरचना पूर्ण रूपमा खरानी भएका हुन् ।
आगलागीबाट कार्कीको मुख्य घरसँगै दुईवटा गाईगोठ, भान्छाघर र भण्डारघर जलेर नष्ट भएका छन् । दन्किरहेको आगोबाट गोठमा रहेका पशुचौपायालाई जोगाउने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्की घाइते भएकी छन् । गाईगोरु निकाल्ने क्रममा उनको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
काठको संरचना भएकाले आगो निकै तीव्र गतिमा फैलिएको थियो । आगो नियन्त्रणमा लिन रतुवामाई नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट तीनवटा दमकल परिचालन गर्नुपरेको थियो । दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको झन्डै पाँच घण्टा लामो निरन्तर प्रयासपछि मात्र मध्यरातमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
प्रहरीले पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरे पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ । घटनास्थलबाट क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेकाले वास्तविक नोक्सानीको यकिन तथ्यांक आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।