२८ कार्तिक २०८३, बिहीबार

सर्लाही जाँदै गरेको इभी ७०० मिटर तल खस्दा १० यात्रुको मृत्यु, हेटौंडा अस्पतालमा घाइतेहरूको उपचार हुँदै


 

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीको भीरबाट करिब ७०० मिटर तल विद्युतीय (ईभी) गाडी खस्दा १० जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भई सडकबाट निकै तल खसेर भयानक दुर्घटनामा परेको हो ।

गाडीमा सवार कुल १५ जनामध्ये १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भए पनि दुर्घटनामा परेका केही यात्रु भने बाँच्न सफल भएका छन् । घाइते भएका ५ जनामध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादवसहित ५ वर्षीय सक्षमकुमार यादव र ३ वर्षीय सुदन यादवलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ ।

अस्पताल स्रोतका अनुसार टाउको र ढाडमा चोट लागेका मुकेश र भित्री चोट लागेका ५ वर्षीय सक्षमकुमारको अवस्था सामान्य रहेको छ । त्यस्तै, टाउको र मुखमा चोट लागेका ३ वर्षीय बालक सुदनको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको छ । बाँकी दुई घाइतेको विवरण र अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

भौगोलिक रूपमा कठिन मानिने चिसापानी गढीको करिब ७०० मिटर तल खसेको गाडीबाट यात्रुहरूको उद्धार गर्न यतिबेला तीनवटै सुरक्षा निकाय परिचालित भएका छन् । सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीसँगै नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ ।

ताजा समाचार