काठमाडौं, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बिहीबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ। कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा काठमाडौंबाट सर्लाहीतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको र ६ जना घाइते भएको घटनाले स्तब्ध बनाएको उल्लेख छ। छठ पर्व मनाउन घर जाने क्रममा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको विज्ञप्तिमा जनाइएको छ।
सरकारले दुर्घटनाका घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिइसकेको छ। विज्ञप्तिअनुसार घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। साथै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनबमोजिम घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको कार्यालयले स्पष्ट पारेको छ।
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
अन्त्यमा, सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न प्रतिबद्ध रहेको जनाएको छ। विज्ञप्तिमार्फत यस दुःखद घटनामा जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना र उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।