१ मंसिर २०८३, आईतवार

गभर्नर पौडेलले पाएको ‘बी’ ग्रेडको अर्थ के हो ? यसरी बुझौँ मूल्यांकनका ६ आधार


सन् २०२५ को मे महिनामा नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हालेका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको सुरुवाती वर्षमै अन्तर्राष्ट्रिय स्तरको सन्तुलित मूल्यांकन हासिल गरेका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ‘ग्लोबल फाइनान्स’ले सार्वजनिक गरेको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’मा डा. पौडेलले ‘बी’ ग्रेड प्राप्त गर्दै विश्वका प्रमुख अर्थतन्त्रका गभर्नरहरूसँगै सन्तोषजनक स्थान बनाएका हुन्।

ग्लोबल फाइनान्सले १ जुलाई २०२५ देखि ३० जुन २०२६ सम्मको एक वर्षे अवधिलाई आधार बनाएर विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन लेखाजोखा गरेको हो। प्रतिवेदनअनुसार डा. पौडेलको नेतृत्वमा विशेषगरी नेपालको बाह्य आर्थिक स्थायित्वमा उल्लेखनीय सुधार आएको छ। यसका साथै, मुद्रास्फीति (महँगी) तुलनात्मक रूपमा न्यून रहेकाले केन्द्रीय बैंकले आर्थिक गतिविधिलाई चलायमान बनाउन नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम राख्दै सन्तुलित मौद्रिक नीति अवलम्बन गरेको प्रतिवेदनमा उल्लेख छ।

‘ए प्लस’ (सर्वोत्कृष्ट) देखि ‘एफ’ (कमजोर) सम्म वर्गीकरण गरिने यस मूल्यांकनमा मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण, नीतिगत पारदर्शिता तथा केन्द्रीय बैंकको स्वायत्ततालाई मुख्य आधार बनाइन्छ। साथै, गभर्नरहरूले गर्ने आर्थिक पूर्वानुमानको सटीकता र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा पुर्‍याएको योगदानलाई समेत लेखाजोखा गरी यो नतिजा सार्वजनिक गरिएको हो।

विश्व मानचित्रमा हेर्दा डेनमार्क र पेरुका गभर्नरले सर्वोत्कृष्ट ‘ए प्लस’ तथा भारत, सिंगापुर, चिली र दक्षिण अफ्रिकालगायतका मुलुकले ‘ए’ ग्रेड पाएका छन्। त्यस्तै, चीन, अस्ट्रेलिया, क्यानडा र युरोपेली संघले ‘बी प्लस’ ग्रेड हासिल गर्दा नेपालले बेलायत, स्विडेन, कतार, बहराइन र टर्कीजस्ता मुलुकसँगै ‘बी’ ग्रेड प्राप्त गरेको हो। उता दक्षिण कोरिया र पाकिस्तान ‘बी माइनस’मा रहँदा ट्युनिसियाले भने ‘डी प्लस’ ग्रेड पाएको छ।

ताजा समाचार