राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर नजिकै बागमती किनारमा रहेको गौरीघाटको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरेका छन्। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाअर्चना गर्दै अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन्।
पूजास्थलमा पुग्दा राष्ट्रपति पौडेललाई सांसदहरू विष्णुदेवी पुडासैनी र पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले स्वागत गरेका थिए। पर्वको अवसरमा बागमती नदी किनारलाई झकिझकाउ पारिएको थियो भने कडा सुरक्षा व्यवस्थाका बीच सयौँ श्रद्धालु भक्तजनहरू पूजाआजाका लागि भेला भएका थिए।
सूर्यदेव र छठी माताको उपासना गरी मनाइने छठ पर्व हरेक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म निष्ठापूर्वक मनाउने गरिन्छ। यस पर्वमा बर्तालुहरूले निराहार व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर परिवार तथा देशको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्दछन्।