३ मंसिर २०८३, मंगलवार

बीपी राजमार्गमा माइक्रोबस खस्दा एउटै परिवारका आमासहित तीन छोरी घाइते, दुर्घटनामा १४ यात्रु परे


जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गबाट खस्दा ललितपुरको एकै परिवारका आमा र तीन छोरीसहित १४ जना यात्रु घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ बजे म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट झन्डै २० मिटर तल अधेरी खोलाको बगरमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा ललितपुरको भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह र उनका तीन छोरीहरू १६ वर्षीया जेनी, ११ वर्षीया सफलता तथा ३ वर्षीया ओमी साह घाइते भएका छन् । यस्तै, धनुषाको शहीदनगर नगरपालिका–२ का एकै थरका बालबालिका तथा किशोरहरू १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित पनि दुर्घटनामा परेका छन् । घाइते हुने अन्यमा सोही नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल र माइक्रोबस चालक शहीदनगर–८ का दीपक कुमार दास रहेका छन् ।

गाडीमा सवार सबै १४ जना घाइते भएकोमा ९ जनाको पहिचान खुलेको छ भने बाँकी ५ जनाको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले बताएको छ । घाइते सबैलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

ताजा समाचार