१४ मंसिर २०८३, शनिबार

​केन्द्रीय सदस्यको प्रमाणपत्र बुझ्दै विनिताको सन्देश– ‘आरोपले मेरो आत्मविश्वास डगमगाएन’


नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य विनिता खड्काले विगतका राजनीतिक आरोप र कठिन परिस्थितिले आफूलाई विचलित नभई झन् शक्तिशाली बनाएको बताएकी छन्।

​पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै खड्काले अब विगतका पीडामा नअल्झिई पार्टी सुदृढीकरण र जनताका मुद्दामा केन्द्रित हुने उद्घोष गरेकी हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कठिन समयमा पनि आफूले इमान र निष्ठाको राजनीति नछाडेको स्पष्ट पारिन्।

​‘आरोपले मेरो आत्मविश्वास तोड्न सकेन, कठिन समयले मेरो संकल्प कमजोर बनाउन सकेन,’ खड्काले भनेकी छन्, ‘बरु म पहिलेभन्दा अझ दरिलो भएर उभिएकी छु।’ उनले केन्द्रीय सदस्यको यो पदलाई केवल अवसरका रूपमा मात्र नभई हजारौँ शुभेच्छुकको विश्वास र आफ्नो संघर्षको सम्मानका रूपमा लिएको उल्लेख गरेकी छन्।

​पार्टी सभापति गगनकुमार थापा, पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै उनले कांग्रेसभित्र लोकतान्त्रिक मूल्यको रक्षा गर्न र युवा पुस्ताको आवाजलाई निर्णायक तहमा स्थापित गर्न आफ्नो भूमिका सशक्त रहने प्रतिबद्धतासमेत जनाएकी छन्।

ताजा समाचार