डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ता एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपी (डिपोजिटरी पार्टिसिपेण्ट्स)मा जानुपर्छ । हाल केही ब्रोकर कम्पनी र क्यापिटल लिमिटेडहरूले डीपी सदस्यता लिएका छन् । डीपीकहाँ शेयर डिम्याट गर्न आग्रह गरिने फारम निःशुल्क पाइन्छ । तर, हितग्राही खाता खोल्न भने ५० रुपैयाँ तिर्नुपर्छ र खाता खोलेपछि वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउनुपर्छ । खाता खोलेपछि मात्र यस्तो शुल्क बुझाउन सकिन्छ ।
हाल शेयर नै नभएका व्यक्तिले पनि खाता खोल्न सक्छन् । तर, आफूसँग शेयर भएमा भने डिम्याट रिक्वेष्ट फारममा भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ । आईएसआईएन सङ्केत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार पनि यो सङ्केत फरक हुन्छ । डीपीसँग सोधेमा पनि यस्तो सङ्क्ेत पाउन सकिन्छ । आफ्नो खातामा फरकफरक कम्पनीको शेयर राख्नुपर्ने भएमा फरकफरक डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ । यसरी यो फारम भरेपछि त्यसमा उल्लेख गरिएका कम्पनीको प्रमाणपत्रसमेत डीपीलाई बुझाउनुपर्छ ।
कम्पनीअनुसर शेयर रजिष्ट्रार फरक हुने भएकाले अलगअलग डिम्याट रिक्वेष्ट फारम भर्ने व्यवस्था गरिएको हो । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित गरिएपछि उसको खातामा शेयर जम्मा हुन्छ । खाता खोलेको र वार्षिक शुल्कबाहेक यो प्रक्रियासम्म अन्य खर्च भने लाग्दैन ।
लगानीकर्ताहरूले एकभन्दा बढी डीपीमार्फत पनि खाता खोल्न सक्छन् । यसरी अलग÷अलग डीपीमार्फत खोलिएका खाताको एकअर्कासँग सम्बन्ध हुँदैन । ग्राहकको विवरण सबै एउटै रहने भए पनि खाता नम्बर भने अलगअलग नै हुनेछ । अलगअलग डीपीबाट खाता खोल्दा शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्ने हुन्छ ।
ग्राहकको खातामा कति शेयर छ भन्ने जानकारी जुन डीपीमार्फत ग्राहकले खाता खोलेको हुन्छ, उसलाई थाहा हुन्छ, अर्काे डीपी सदस्यलाई भने हुँदैन । खाता खोल्नेबित्तिकै डीपीले ग्राहकलाई डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । यो स्लिप चेकजस्तै हो । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यसरी भरेको स्लिप हराएमा सीडीएस एण्ड क्लीयरिङ लिमिटेडमा तुरन्त जानकारी गराइहाल्नुपर्छ ।
अहिले कारोबारको क्रममा यस्तो डेलिभरी इन्ष्ट्रक्शन स्लिपको आवश्यकता पर्ने भए पनि पछि भने हुँदैन । सीडीएससीले ब्रोकरहरूलाई इण्टरफेस पनि दिएको छ । यस्तो इण्टरफेसमा ग्राहकले कति कित्ता शेयर बेच्ने हो, उल्लेख गरेपछि ब्रोकरले तोकिएको कम्पनीको तोकिएको सङ्ख्या भर्दछ । यदि ग्राहकले भनेजति शेयर खातामा छ भने विक्री प्रक्रिया अगाडि बढ्छ ।
ग्राहकले दिएको विक्री अर्डरको नम्बरसमेत राख्नुपर्ने र सीडीएससीले पनि यसको सुपरिवेक्षण गरिरहने भएकाले यसको दुरुपयोग हुँदैन । स्लिपबाट अर्डर दिँदा विक्रीकर्ताको खाताबाट शेयर विक्री गर्ने ब्रोकरको खातामा शेयर जान्छ र त्यहाँबाट सीडीएससीको खातामा जान्छ । यही शेयर किन्ने ब्रोकर हुँदै किन्ने लगानीकर्ताको खातामा पठाइन्छ । यो प्रक्रियामा शेयर किन्न र बेच्न एउटै ब्रोकरबाट गर्न सकिन्छ । यसरी शेयर बेच्दा पनि लगानीकर्ताले २५ रुपैयाँ र किन्दा पनि २५ रुपैयाँ तिर्नुपर्छ । तर, एकै दिन एउटै कम्पनीको शेयर कारोबार गर्दा भने हरेक कारोबारको अलगअलग शुल्क तिर्नुपर्दैन । एउटै कम्पनीको शेयर भए पनि किन्ने र बेच्ने दुवै गरिएको छ भने किन्दा र बेच्दा दुईपटक २५ रुपैयाँ/२५ रुपैयाँ तिर्नुपर्छ ।
सीडीएससीले १४ कम्पनीको डिम्याट शेयर कारोबार अनिवार्य गरिसकेको छ । यी शेयरको कारोबार गर्नुअघि अनिवार्य रूपमा शेयरको डिम्याट गरिएको हुनुपर्ने व्यवस्था छ ।