१२ पुष २०८१, शुक्रबार

बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता: तरलता बढी के हुन्छ?


बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ५८ प्रतिशतमा झरेको छ ।

लगानीयोग्य रकम थुप्रिएपछि केन्द्रीय बैंकले तान्यो निक्षेप

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकाअनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्छ । अर्थात्, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम् ९० प्रतिशत कायम गर्न पाइने व्यवस्था छ । यस्तै, बैंकहरूले न्यूनतम २० प्रतिशत खुद तरल सम्पत्ति कायम गर्नुपर्ने हुन्छ । हाल बैंक तथा वित्तीय संस्थामा ३० प्रतिशतभन्दा बढी खुद तरल सम्पत्ति पुगेको छ ।

केन्द्रीय बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने प्रावधान बनाएको हुँदा अहिले बैंकहरूसँग थप ८ खर्ब २८ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता देखिएको छ ।

एक महिनाअघि पनि बैंक तथा वित्तीय संस्थाको कर्जा ५१ खर्ब ५२ अर्ब मात्र थियो । यो अहिले सोही हाराहारीमा छ । तर, निक्षेप भने १ खर्ब बढी संकलन भएको छ । राष्ट्र बैंकको तथ्यांकनुसार बिहीबार २० असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँले वृद्धि भएको थियो । तर, यस अवधिमा उनीहरूको कर्जा प्रवाह भने निक्षेपको तुलनामा आधा अर्थात् २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्रै भएको छ । रेमिट्यान्समा देखिएको सुधार, घट्दो आयात र बढ्दो शोधनान्तर स्थितिसँगै चालू खाता पनि लगातार बचतमा हुँदा बैंकमा निक्षेप लगातार बढेको छ ।

कर्जा प्रवाह हुन नसकी तरलता बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ । बैंकहरूमा निक्षेप थुप्रिएपछि राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तानेको छ ।

राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट यतिको रकम झिक्न लागेको हो । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी १२ भदौमा हुनेछ ।

यसअघि गत १६ साउन पनि २१ दिने निक्षेप संकलनका माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तानेको थियो । ५ भदौमा सावाँ तथा ब्याज भुक्तानी हुने यो प्रणालीमा बैंकहरूले औसत २ दशमलव ९९ प्रतिशत ब्याज मागेका थिए ।

२२ साउनसम्म राष्ट्र बैंकले बैंकहरूबाट तानेको र भुक्तानी दिन बाँकी रकम ३ खर्ब ५८ अर्ब रुपैयाँ छ । अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट रकम झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्नका लागि अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशतभन्दा तल जान लाग्यो भने निक्षेप खिच्ने गर्छ भने अन्तरबैंकिङ ब्याजदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि जान लाग्यो भने बजारमा रकम पठाउने गर्छ ।

अहिले अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले राष्ट्र बैंकले फेरि बजारबाट रकम झिक्न लागेको हो । निक्षेप संकलन प्रणालीको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिन्छ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा सो रकम गणना गर्न पाइने सुविधा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दिएको छ ।

अहिले ‘क’ वर्गका वाणिज्य बैंकहरूले ५७ खर्ब १० अर्ब निक्षेप रुपैयाँ संकलन गरेका छन् भने कर्जा प्रवाह ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै गरेका छन् । यसैगरी, अन्य वित्तीय संस्थाहरूले ७ खर्ब २९ अर्ब निक्षेप संकलन गर्दा ५ खर्ब ९३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।