२१ फाल्गुन २०८१, बुधबार

ट्रम्प-जेलेन्स्की वार्ता १० मिनेटमै कसरी असफल भयो?


युक्रेनका राष्ट्रपति शुक्रवार राति ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग सकारात्मक छलफल गरेर बाहिरिने अपेक्षामा थिए।

भेटले युक्रेनको तत्कालै सुरक्षा सुनिश्चितता नगरे पनि भविष्यको हितका लागि उसको खनिजमा अमेरिकालाई वास्तविक हिस्सा दिने टुङ्गो लगाउने अपेक्षा गरिएको थियो।

तर त्यसो भएन। अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनलाई आफ्नो देशले गरिरहेको सहयोगका लागि कृतज्ञता देखाउन माग गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विश्वभरिका सञ्चार माध्यमकै अगाडि चर्काचर्कीमा उत्रिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविराम सम्झौताका लागि अझै कडा मेहनत गर्न आफ्ना शक्तिशाली साझेदार देशका नेताहरूले दिएको सुझाव युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरिदिए।

त्यसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले उनी “अनादर” भएर प्रस्तुत भएको प्रतिक्रिया दिए।

अन्ततः पूर्वनिर्धारित पत्रकार सम्मेलनमा बोल्न ट्रम्प मञ्चमा पुग्नुअघि नै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन भनियो।

अनि दुवै पक्षले यसै साता सकारात्मक रूपमा चर्चा गरेको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन।

“शान्तिका लागि तयार भएपछि फर्केर आउनू,” जेलेन्स्कीको कार त्यहाँबाट बाहिरिएलगत्तै ट्रम्पले सामाजिक सञ्जालमा लेखे।

बैठकका दौरान दुवै पक्षलाई आवेशमा ल्याउने कैयौँ क्षणहरू आएका थिए। यहाँ त्यसमध्येका केही क्षणहरू र त्यस पछाडिको राजनीति र भावनात्मक पक्षको चर्चा गरिएको छ।

आरम्भमा करिब आधा घण्टासम्म सुमधुर वार्ता र औपचारिक कुराकानी भएका थिए।

जब उपराष्ट्रपति भान्सले “कूटनीतिक माध्यमबाट शान्ति र समृद्धिको बाटो खोज्न सकिने र ट्रम्पले त्यही गरिरहेको” बताए त्यही बिन्दुबाट तनाव सुरु भयो।

जेलेन्स्कीले भान्सलाई त्यहीँ रोके। उनले तीन वर्षअघिको पूर्ण स्तरको आक्रमण अघिबाटै रुसबाट भइरहेका आक्रमण र सन् २०१९ को असफल युद्धविरामको सन्दर्भ निकाल्दै पुटिनबारे भने, “उनलाई कसैले रोकेन।”

“तपाईँले कस्तो किसिमको कूटनीतिको कुरा गरिरहनुभएको? भन्न खोज्नुभएको के हो?” उनले भने।

त्यसमा भान्सको जबाफ थियो, “तपाईँको देशमा भइरहेको विनाश अन्त्य गर्ने किसिमको।”

त्यसपछि दुई पक्षबीचको चर्काचर्की देखिने गरी तनावपूर्ण बन्दै गयो।

भान्सले युक्रेनले सामना गरिरहेको सैन्य अभाव र सेनामा भर्ती हुने मानिसहरूको अभावबारे कुरा उठाएपछि जेलेन्स्कीले त्यसमा तत्कालै प्रतिक्रिया दिए।

उनले भने, “युद्धका समयमा सबैलाई समस्या हुन्छ। तपाईँहरूलाई पनि हुन्छ। तर तपाईँहरूसँग राम्रा समुद्रहरू भएका कारण त्यो अहिले महसुस गर्नुहुन्न। तर भविष्यमा महसुस हुन्छ।”

यो प्रतिक्रियाले ट्रम्पलाई आक्रोशित बनाउँछ। यति बेलासम्म जेलेन्स्की र अमेरिकी उपराष्ट्रपतिबीच मात्रै सीमित वादविवादमा अब ट्रम्प पनि मिसिन्छन्।

यहाँ युक्रेनी नेताले युद्धमा आक्रमण गरिरहेका नेतासँग कुरा गरेर ट्रम्पले आफ्नो नैतिक धरातल गुमाएको विषय उठाउन खोजेजस्तो देखिन्छ।

ट्रम्पले रुससँग गरेको कुराकानी आधारभूत रूपमै गलत भएको आलोचकहरूको भनाई जस्तै जेलेन्स्कीको सन्देशले ट्रम्पको मर्ममा प्रहार थियो।

त्यसले मस्कोले भोगिरहेको एक्लोपन अन्त्य गर्नुका साथै तत्कालै युद्धविराम गर्न भनेर ट्रम्पले पुटिनलाई हौसला प्रदान गरेको अनि युरोपलाई कमजोर बनाउनुका साथै युक्रेनी भूभाग कब्जा गर्न रुसलाई छोडिदिएको आलोचकहरूको आरोप छ।

ट्रम्पले यो युद्धलाई दुई पक्षबीचको मात्रै भएको अर्थ लगाउँदै दुवै पक्षले त्यसको भार र क्षति बहन गर्नुपर्ने बताउने गरेका छन्।

तर जेलेन्स्कीले यो सोचले विनाशकारी परिणाम ल्याउने चेतावनी दिइरहेका थिए अर्थात् युक्रेनी नेताले ओभल अफिसमा ट्रम्पलाई भनिरहेका थिए, ‘रुसलाई खुसी पार युद्ध सीधै तिमीतर्फ आउने छ।’

तर यो कुराले ट्रम्पको सबैभन्दा ठूलो प्रतिक्रिया निम्त्यायो।

“हामीलाई के महसुस गर्छौँ भनेर तपाईँले सिकाउनु पर्दैन। तपाईँ त्यो कुरा थोपर्ने ठाउँमा हुनुहुन्न,” उनले भने। यसो भनिरहँदा ट्रम्पको आवाज चर्को हुँदै गयो।

“तपाईँसँग अहिले कुनै कार्ड छैन,” ट्रम्पले जेलेन्स्कीलाई भने। “तपाईँ दशौँ लाख मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ।”

ट्रम्पको अगाडि बलियो भएर कुरा गर्न चाहेको देख्न चाहनेहरूका लागि यो चर्काचर्कीले जेलेन्स्कीप्रति वाहवाही पनि बटुल्न सक्छ। तर सँगसँगै यो क्षणले युरोपमा युद्ध र शान्तिको युगको निर्धारण पनि गर्न सक्छ। बीबीसी