अमेरिकी डाइभर्सिटी भिसा (DV-2027) को पर्खाइमा रहेका आवेदनकर्ताहरूका लागि यस वर्ष डीभी खुल्छ कि खुल्दैन भन्ने विषय अन्योलमा परेको छ। पुनरावेदन अदालत (नाइन्थ सर्किट) ले तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक लगाएपछि नोभेम्बर १ भित्र आवेदन खुलाउनुपर्ने अघिल्लो समयसीमा स्थगित भएको हो।
यसअघि अक्टोबर १४ मा जिल्ला अदालतले अमेरिकी विदेश मन्त्रालयलाई अक्टोबर २९ सम्म सूचना जारी गरी नोभेम्बर १ देखि आवेदन खुलाउन र डिसेम्बर ३ सम्म नतिजा सम्बन्धी जानकारी दिन प्रारम्भिक आदेश दिएको थियो। अध्यागमनसम्बन्धी कानुनी सेवा दिने ‘रेड इगल ल’ फर्मले सरकारले सन् २०२७ का लागि डीभी नखुलाएर कानुनी दायित्व पूरा नगरेको भन्दै मुद्दा दायर गरेको थियो।
तर, तल्लो अदालतको उक्त आदेशविरुद्ध अमेरिकी सरकारले दिएको आकस्मिक निवेदनलाई स्वीकार गर्दै नाइन्थ सर्किटले पुनरावेदनको अन्तिम टुंगो नलाग्दासम्मका लागि आदेश स्थगन गरिदिएको छ। अदालतका अनुसार मुद्दा हाल्ने कानुनी फर्म आफैँ प्रत्यक्ष आवेदक नभएको र डीभी कानुनले फर्मको हित संरक्षण गर्ने स्पष्ट आधार नदेखिएकाले तत्कालका लागि तल्लो अदालतको कार्यतालिका लागू नहुने भएको हो।
के डीभी कार्यक्रम पूर्ण रूपमा बन्द भएको हो?
अदालतको यो निर्णयले डीभी कार्यक्रम सधैँका लागि बन्द गरेको भने होइन। अदालतले विदेश मन्त्रालयको डीभी नखुलाउने निर्णयलाई सही ठहर्याएको नभई केवल पुनरावेदनको छिनोफानो नभएसम्म तल्लो अदालतले तोकेको मिति र समयसीमालाई रोकेको मात्र हो।
त्यसैले, अदालतमा पुनरावेदनको अन्तिम फैसला के आउँछ वा अमेरिकी विदेश मन्त्रालयले यसबारे कस्तो कदम चाल्छ भन्ने कुरामै यस वर्ष डीभी–२०२७ को आवेदन खुल्छ वा खुल्दैन भन्ने तय हुनेछ। अमेरिकाले न्यून आप्रवासन रहेका देशका नागरिकलाई वार्षिक रूपमा अधिकतम ५५ हजारसम्म डीभी भिसामार्फत प्रवेश अनुमति दिँदै आएको छ।