नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो दिन आज (मंगलबार) दुई रोमाञ्चक खेलहरू हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने ‘डबल हेडर’ भिडन्तमा प्रतियोगिताका चार दाबेदार टोलीहरू आमनेसामने हुँदैछन्। पहिलो खेलमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे सञ्चालित हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
उद्घाटन म्याचमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले सहजै पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ। त्यसैले, आज मैदान उत्रने चारै टोलीका लागि जितसहित अंक तालिकामा बलियो उपस्थिति जनाउने उत्कृष्ट अवसर रहनेछ। एकातिर पहिलो खेलमा विराटनगर र चितवन विजय अभियान सुरु गर्ने दाउमा रहनेछन् भने अर्कातिर कर्णाली र जनकपुर टोली पनि आफूलाई एनपीएलको बलियो टोलीका रूपमा प्रस्तुत गर्न तयार देखिएका छन्।
कात्तिक ९ गतेदेखि सुरु भएको नेपाल क्रिकेटको यो महाकुम्भ मंसिर ५ गतेसम्म चल्नेछ। घरेलु तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको समिश्रणले गर्दा आजका दुवै खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।