११ कार्तिक २०८३, सोमबार

पीडीएनएको प्रारम्भिक नतिजा: बाढीले खोस्यो ३२ हजार नागरिकको आधार, ७९ अर्बको क्षति


flood

रसुवा-भोटेकोशी क्षेत्रमा भदौ १० गते गएको विनाशकारी बाढीका कारण ठूलो मात्रामा निजी सम्पत्तिको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक प्रतिवेदन अनुसार पूर्वाधार, औद्योगिक तथा सामाजिक क्षेत्रबाहेक सर्वसाधारणको व्यक्तिगत सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। यो कुल क्षतिमध्ये सर्वसाधारण घरपरिवारको ६९ अर्ब ५७ करोड र व्यवसायिक प्रतिष्ठानहरूको ९ अर्ब ६० करोड रुपैयाँ बराबरको हिस्सा रहेको छ, जसले कुल नोक्सानीको करिब ८८ प्रतिशत भार सामान्य नागरिकमा परेको देखाउँछ।

मन्त्रिपरिषद्को १२ भदौको निर्णय अनुसार आयोगले ५८ वटा टोलीमा १५६ जना प्राविधिक तथा प्रशासनिक कर्मचारी परिचालन गरी प्रभावित क्षेत्रमा तथ्यांक संकलन गरेको थियो। यस सर्वेक्षण अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ वटा स्थानीय तहका ३२ हजार ८ सय ७२ जना नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। जिल्लागत हिसाबले नुवाकोटमा सबैभन्दा धेरै १७ हजार ९ सय ५४ जना (४ हजार १ सय ६४ घरपरिवार तथा प्रतिष्ठान) प्रभावित भएका छन् भने रसुवामा ९ हजार ६ सय ७६, धादिङमा ४ हजार ५ सय ८४ र गोरखामा ६ सय ५८ जना बाढीको मारमा परेका छन्।

आर्थिक दृष्टिले हेर्दा बाढीले सबैभन्दा ठूलो प्रहार भू-भाग तथा जमिनमा पारेको छ। ३ हजार ६ सय १० परिवारको ५ सय ८ हेक्टर जमिन कटान तथा क्षतविक्षत हुँदा करिब ३५ अर्ब ४४ करोड रुपैयाँको नोक्सानी भएको छ। यसैगरी, ५४.६५ हेक्टर क्षेत्र ओगटेका भवन तथा संरचना रहेको निजी जग्गामा १३ अर्ब २६ करोड र संरचना निर्माणमा भएको लगानीतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांकले दर्शाउँछ।

भौतिक संरचना र जग्गाबाहेक बाढीले नागरिकका जिन्सी, सवारी तथा नगद धनमालमा पनि गम्भीर असर पुर्‍याएको छ। २ हजार ३ सय ३० परिवारका बहुमूल्य, पुरातात्त्विक तथा सांस्कृतिक वस्तु र नगद गरी ५ अर्ब २ करोड रुपैयाँ क्षति भएको छ। साथै घरायसी सामान, खाद्यान्न, बालीनाली र सवारीसाधनमा अर्बौँको नोक्सानी हुनुका साथै ६ सय ६४ ठूला र ४ हजार ६ सय १ साना चौपाया, ६३ हजारभन्दा बढी पन्छी र २४ हजार किलोभन्दा बढी माछा नष्ट भएका छन्।

बाढीका कारण प्रभावित क्षेत्रका ४ हजार १ सय ५१ वटा भवन संरचनामा क्षति पुगेको छ, जसमध्ये २ हजार ९ सय ८९ (७२ प्रतिशत) संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। कुल क्षतिग्रस्त संरचनामध्ये ३ हजार १ सय ४ वटा (करिब ७७ प्रतिशत) भवनहरू पूर्ण रूपमा प्रयोगविहीन बनेका छन् भने सामान्य र पूर्ण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने संरचनाको संख्या जम्मा ६ सय ५२ मात्र रहेको छ।

व्यावसायिक क्षेत्रतर्फ हेर्दा १ हजार ६ सय ३८ वटा व्यावसायिक प्रतिष्ठानहरू बाढीबाट प्रभावित भएका छन्। यसमा सबैभन्दा बढी थोक तथा खुद्रा व्यापार (४७.२५ प्रतिशत) र होटेल तथा रेस्टुरेन्ट क्षेत्र (२०.५७ प्रतिशत) मारमा परेका छन्। व्यवसायीका ४ सय ३ वटा सवारीसाधन विनाश हुनुका साथै १ लाख ५३ हजारभन्दा बढी पन्छी र २८ हजार किलोभन्दा बढी माछा नष्ट हुँदा व्यावसायिक क्षेत्रमा थप ९४ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ।

ताजा समाचार