नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज (सोमबार) देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु हुँदैछ। फ्लडलाइटको रोशनीमा साँझ ५ बजे हुने उद्घाटन भिडन्तमा दुई क्रिकेट शक्ति—साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
पहिलो संस्करणको पुछारमा सीमित भएर दोस्रो संस्करणमा सोझै ट्रफी उचाल्न सफल लुम्बिनी यसपटक आफ्नो विजेताको साख जोगाउने दाउमा छ। कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिने लुम्बिनीले गत वर्षको सफल टोलीको मुख्य संरचनालाई कायमै राखेको छ। सन्दीप जोरा, शेर मल्ल, दिनेश अधिकारी र दिलीप नाथजस्ता सशक्त घरेलु खेलाडीका साथै अघिल्लो सिजनका ‘प्लेयर अफ द टुर्नामेन्ट’ रुवेन ट्रम्पलम्यान (नामिबिया), डार्सी सर्ट (अस्ट्रेलिया) र निरोशन डिकवेला (श्रीलंका) जस्ता अन्तर्राष्ट्रिय स्टारहरूको बलियो साथ लुम्बिनीलाई प्राप्त छ।
अर्कातिर, लगातार दुई सिजन फाइनल पुगेर पनि उपाधि विमुख बनेको सुदूरपश्चिम रोयल्स यसपटक जसरी पनि ‘अभागी’ उपविजेताको ट्याग हटाउने रणनीतिमा छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले यसपटक टोलीको रणनीतिक कमान्ड पाकिस्तानका पूर्वकप्तान मिस्बाह उल हकलाई सुम्पेको छ। टोलीमा सैफ जैब, स्कट कुगुलेइन, ब्रान्डन म्याकमुलन, फाबियन एलेन र शेरफेन रदरफोर्डजस्ता आक्रामक विदेशी खेलाडी भित्र्याएर सुदूरपश्चिम थप घातक बनेको छ।
इतिहास र तथ्याङ्कलाई हर्दा सुदूरपश्चिम केही अगाडि देखिन्छ। यी दुई टोलीबीच भएका तीन भेटमध्ये सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ। तर, दोस्रो सिजनको निर्णायक फाइनल भिडन्तमा लुम्बिनीले ६ विकेटको सानदार जित निकाल्दै सुदूरपश्चिमको उपाधि सपना चक्नाचुर पारिदिएको थियो।
एकतर्फ लुम्बिनी लगातार दोस्रोपटक उपाधि जितेर आफ्नो वर्चस्व कायम राख्न चाहन्छ भने अर्कोतर्फ सुदूरपश्चिम अघिल्लो सिजनको फाइनल हारको बदला लिँदै विजयी सुरुवात गर्न आतुर छ। त्यसैले, त्रिवि मैदानमा आज साँझ हुने प्रतिस्पर्धा निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ।