
प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन्।
सोमबार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको दाबी गरिन्।
यदि पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौती दिइन्। कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने बताइन्।
आफूले राजनीति नगरे पनि राजनीति बुझ्ने उल्लेख गरिन्।
उनले भनिन्, ‘केपी ओलीसँगै बसेपछि त अलिअलि राजनीति नबुझ्ने हुँदैन होला, बुझ्छु। राजनीतिलाई विश्लेषण नै गर्ने हो भने मलाई लाग्छ म सही ढंगले विश्लेषण गर्नसक्छु। मलाई कुनै लोभ, अवसर, महत्वकांक्षा छैन। हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन। तपाईंहरुले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु।’