
मायाको प्रतीक मानिने आमाले कहिल्यै आफ्ना सन्तानलाई घृणा गर्न सक्दिनन् भन्ने मान्यता रहेको भए पनि हङकङकी एक महिलाले त्यो सीमालाई समेत पार गरेकी छिन्। ताइवानमा घटेको एक हृदयविदारक घटनामा मृत शिशु जन्माएर अस्पतालको फ्रिजमा राखी बेपत्ता भएकी ती महिला हाल शव परित्यागको अपराधमा दोषी ठहरिएकी छिन्।
साउथ चाइना मोर्निङ पोस्टका अनुसार २५ वर्षीया हुआङ नाम गरेकी महिला सन् २०२१ मा पढाइका लागि ताइवान गएकी थिइन्। उनले ५ नोभेम्बर २०२२ मा गर्भावस्थाको २१ औं हप्तामा ताइचुङस्थित चाइना मेडिकल युनिभर्सिटी अस्पतालमा मृत शिशु जन्माइन्।
चाइना टाइम्सको रिपोर्ट अनुसार, हुआङले शिशुको शव अस्पतालको फ्रिजमा राखेपछि डिसेम्बर १०, २०२२ अघि त्यसलाई लिन र अन्त्येष्टिका लागि आवश्यक रकम बुझाउने सर्तमा एक अन्त्येष्टि सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेकी थिइन्। तर, उनी त्यसपछि फर्किएकी छैनन् र अहिलेसम्म सम्पर्कविहीन छिन्।