३० जेष्ठ २०८३, शुक्रबार

उद्घाटन खेलमै ‘रेड कार्ड’ को बाढी: मेक्सिकोलाई ३ अंकको ‘किक’, दक्षिण अफ्रिकालाई सुरुमै झट्का


फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को सहज जित दर्ता गरेको छ । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियमको कीर्तिमान बनाएको मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा घरेलु टोलीका लागि जुलियन क्विनोनेसले नवौं मिनेटमा र राउल जिमेनेजले ६७औं मिनेटमा एक-एक गोल गरे । यसै खेलमार्फत मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो र समग्र विश्वकप इतिहासकै छैटौं कान्छा खेलाडीको रूपमा डेब्यु गर्दै नयाँ कीर्तिमान समेत बनाएका छन् । जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण ३ अंक जोडेको छ ।

तनावपूर्ण र रोचक बनेको यस उद्घाटन खेलमा ब्राजिलियन रेफ्रीले कुल तीनवटा रातो कार्ड देखाएका थिए । खेलको ४९औं मिनेटमा सेफेलो सिथोल र ८४औं मिनेटमा थेम्बा ज्वानेले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित हुन पुगेको थियो भने दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड खाँदै मैदान छाडेका थिए । पहिलो खेलमै हार व्यहोरेपछि दक्षिण अफ्रिका दबाबमा परेको छ भने यही समूहको दोस्रो खेल चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुँदैछ ।

ताजा समाचार