२६ श्रावण २०८३, सोमबार

सिंहदरबारको नयाँ आश्वासन: ‘जेन्जी’ आन्दोलनका घाइतेदेखि युवा सम्मलाई स्वदेशमै रोजगारी दिने दाबी!


युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा शक्तिलाई देशभित्रै टिकाउन र राष्ट्र निर्माणमा परिचालन गर्न मन्त्रालयले सीप विकास, प्रविधि, उद्यमशीलता र नेतृत्व प्रवर्द्धनका बहुआयामिक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अबका युवालाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउन ‘रोजगार प्रवर्द्धन दशक’लाई मन्त्रालयको सर्वोच्च प्राथमिकतामा राखिएको जानकारी गराए। आगामी दशकमा युवाका अवसर र चुनौतीलाई सम्बोधन गर्न एआई, जलवायु परिवर्तन र सूचना प्रविधिलाई समेटेर ‘युवा नीति २०८२’ मार्फत नीतिगत मार्गदर्शन गरिएको उनले स्पष्ट पारे।

नेपालमा युवाका सवालहरूलाई सम्बोधन गर्न र राष्ट्रिय युवा परिषद्लाई अझ प्रभावकारी बनाउन ‘राष्ट्रिय युवा ऐन’को नयाँ मस्यौदा तयार भइसकेको मन्त्री यादवले सदनलाई अवगत गराए। युवाको रोजगार योग्यता बढाउने, स्थानीय तहसम्म अवसरको विस्तार गर्ने र श्रम बजारसँग जोड्ने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको उनको भनाइ थियो। परिषद्लाई सक्षम, सृजनशील र सभ्य नागरिक तयार पार्ने नेतृत्वदायी निकायका रूपमा विकास गर्न सरकार गम्भीरताका साथ लागिपरेको उनले बताए।

विशेषगरी सीमान्तकृत र आन्दोलनका प्रभावितहरूलाई प्राथमिकतामा राख्दै सरकारले विशेष तालिमको खाका तयार पारेको छ। सहिद परिवार, जेन्जी (Gen Z) आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्ति, सुकुम्बासी र सीमान्तकृत समुदायलाई लक्षित गरी राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिने मन्त्री यादवले जानकारी दिए। यस अभियानमार्फत स्वदेशमै प्रशस्त रोजगार सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्रिय विकासमा परिचालन गर्ने लक्ष्य सरकारले लिएको छ।

ताजा समाचार